हेटौंडा–५ पिप्ले सडक विस्तारमा गुणस्तरमाथि प्रश्न : केही महिनामै खाल्टाखुल्टी, सामाजिक अभियन्ता विशालराज महतको आक्रोश

पिप्ले,जेठ १ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने पिप्ले क्षेत्रमा केही समयअघि विस्तार गरिएको सडकमा अहिले नै खाल्टाखुल्टी देखिन थालेपछि स्थानीयवासीले सडकको गुणस्तरमाथि प्रश्न उठाउन थालेका छन्। नगर प्रमुख मिना लामाको उपस्थितिमा सडकको गुणस्तर मापन तथा अनुगमन गर्दै रातारात सडक विस्तार गरिएको उक्त सडक छोटो समयमै बिग्रिन थालेपछि स्थानीयस्तरमा आलोचना चुलिएको हो।

सडक विस्तारको क्रममा जनप्रतिनिधि तथा सम्बन्धित निकायले गुणस्तरीय निर्माणको प्रतिबद्धता जनाए पनि अहिले सडकमा खाल्टा, धुलो तथा जोखिम बढ्दै गएको स्थानीयहरूको गुनासो छ। दैनिक रूपमा उक्त सडक प्रयोग गर्ने सर्वसाधारणले सवारी साधन सञ्चालनमा समस्या भोग्नुपरेको बताएका छन्।

यसै विषयलाई लिएर सेवा सहयोग र आवाजमा हामी संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले राज्यले कर असुलीमा कडाइ गर्ने तर नागरिकले हिँड्ने सडकको गुणस्तर र मर्मतमा बेवास्ता गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

उनले फेसबुक स्टाटसमार्फत “रोड ट्याक्स समयमा नतिर्दा जनतालाई जरिवाना तिराइन्छ, तर हिँड्नुपर्ने सडक भने खाल्टा, धुलो र जोखिमले भरिएको छ” भन्दै सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका छन्। साथै उनले गुणस्तरहीन निर्माण गरेर बजेट सक्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र दुर्घटना वा सवारी क्षतिमा जिम्मेवार निकाय स्पष्ट हुनुपर्ने माग गरेका छन्।

स्थानीयवासीले पनि निर्माण सम्पन्न भएको छोटो समयमै सडक बिग्रिनु गम्भीर विषय भएको भन्दै उपमहानगरपालिकाले तत्काल अनुगमन गरी आवश्यक मर्मत तथा गुणस्तर परीक्षण गर्नुपर्ने बताएका छन्। जनताले तिरेको कर सुरक्षित, सहज र गुणस्तरीय सेवा प्राप्तिका लागि भएको भन्दै उनीहरूले जिम्मेवार निकायलाई उत्तरदायी बन्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.