हेटौँडा, जेठ ४ गते। हेटौंडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न सडक क्षेत्रमा ढकमक्क फुलेका फूलहरूले यतिबेला शहरको सौन्दर्यलाई थप आकर्षक बनाएका छन्। सडक छेउ, डिभाइडर तथा सार्वजनिक स्थलमा रोपिएका रंगीचंगी फूलहरूले हरित शहरको पहिचान बोकेको हेटौंडालाई ‘फूलैफूलको शहर’ का रूपमा थप परिचित गराइरहेका छन्।

हेटौंडा बजार क्षेत्रको मुख्य व्यापारिक केन्द्र कान्तिराजपथदेखि उपमहानगरभित्रका विभिन्न सडक, पार्क तथा सार्वजनिक स्थानमा फुलेका फूलहरूले स्थानीयवासीसँगै आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गरिरहेका छन्। व्यवस्थित रूपमा सजाइएका फूल तथा हरियालीले शहरलाई स्वच्छ, शान्त र मनमोहक बनाएको छ।

कान्तिराजपथस्थित डिभाइडर, भैरवरोड, हुप्राचौर, कमानेलगायत क्षेत्रका सडक किनार तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका मौसमी फूलहरू ढकमक्क फुलेका देख्न सकिन्छ। उपमहानगरपालिकाले १९ वटै वडामा फलफूल तथा मौसमी फूलका बिरुवा वितरण गर्दै वृक्षारोपण तथा हरियाली प्रवर्द्धन अभियानलाई निरन्तरता दिएको जनाएको छ।

नगरलाई स्वच्छ, हरित र आकर्षक बनाउने उद्देश्यका साथ योजनाबद्ध रूपमा हरियाली विस्तारमा लगानी गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ। फूल तथा हरियाली व्यवस्थापनका लागि दैनिक रूपमा कर्मचारी परिचालन गरी संरक्षण, सरसफाइ तथा स्याहारसम्भारको कामसमेत भइरहेको वातावरण शाखाले जानकारी दिएको छ।

उपमहानगरपालिकाले आगामी पाँच वर्षभित्र ५० हजार बिरुवा रोप्ने लक्ष्यसहित हरियाली विस्तार अभियान सञ्चालन गरिरहेको छ। सडक क्षेत्रको फूल तथा सरसफाइ व्यवस्थापनका लागि करिब एक सय जनशक्ति परिचालन गरिएको वातावरण शाखाले जनाएको छ। हरियाली विस्तारसँगै हेटौंडाको सौन्दर्य, वातावरणीय सन्तुलन तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।














