हेटौडा, असार १४ गते। हेटौँडामा आयोजित तीनदिने “ड्रागन फ्रुट महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। असार ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा करिब रु. २५ लाख बराबरको आर्थिक कारोबार हुनुका साथै करिब १० मेट्रिक टन (१० हजार केजीभन्दा बढी) ड्रागन फ्रुट बिक्री भएको आयोजकले जनाएको छ।

महोत्सवले नेपाली फलफूलप्रति उपभोक्ताको आकर्षण र स्थानीय कृषि उत्पादनको बलियो बजार सम्भावना उजागर गरेको छ। हेटौँडा तथा आसपासका जिल्लाबाट आएका उपभोक्ताको उल्लेख्य सहभागिताले स्वदेशी फलफूलको माग बढ्दो अवस्थामा रहेको पुष्टि गरेको आयोजकको भनाइ छ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले नेपाली फलफूलको बजार नभएको भन्ने धारणा गलत सावित भएको बताइन्। उनले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै विदेशी उत्पादनप्रतिको अत्यधिक मोहले स्थानीय कृषि क्षेत्र कमजोर बनेको धारणा व्यक्त गरिन्।
उनका अनुसार महोत्सवको पहिलो दिनदेखि नै ड्रागन फ्रुटको बिक्री उत्साहजनक रहेको थियो। उत्पादक र व्यापारीहरू माग धान्ने विषयमा नै चिन्तित बन्न पुगेका थिए। तीन दिनको अवधिमा १० हजार केजीभन्दा बढी ड्रागन फ्रुट बिक्री हुनु नेपाली फलफूलप्रति उपभोक्ताको विश्वास र रुचिको स्पष्ट संकेत भएको उनले बताइन्।
मेयर लामाले अब हेटौँडालाई उत्पादनको केन्द्र मात्रै नभई फलफूलको उच्च खपत हुने क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्। जंक फुड र मदिराजन्य पदार्थको सेवन घटाएर फलफूल उपभोगतर्फ नागरिक आकर्षित भए स्थानीय कृषि उद्यमी, अर्थतन्त्र र जनस्वास्थ्य सबैलाई सकारात्मक लाभ पुग्ने उनको भनाइ थियो।

महोत्सवले किसान, व्यापारी र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापित गर्दै स्वदेशी कृषि उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको निष्कर्ष छ।
तीन दिनसम्म सञ्चालन भएको महोत्सवलाई सफल बनाउन सहयोग गर्ने हेटौँडावासी, कृषक, व्यापारी, ग्राहक तथा सरोकारवाला सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।














