श्रम संस्कृति पार्टी मकवानपुरको श्रम अभियानले एक वर्ष पूरा गर्‍यो, हुप्रचौरमा विशेष सरसफाइ कार्यक्रम

हेटौंडा, असोज १८ गते । श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरले जिल्लामा श्रम अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा वार्षिक उत्सव तथा विशेष श्रमदान कार्यक्रम सम्पन्न गरेको छ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा आयोजित कार्यक्रममा सहभागीहरूले चौर तथा आसपासका क्षेत्रमा रहेका फोहोरजन्य वस्तु संकलन गरी सरसफाइ गरेका छन्।

जिल्लामा श्रम अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा पार्टीका नगर कमिटी, गाउँपालिका कमिटी, वडा तथा टोल तहमा आबद्ध अगुवा तथा श्रमदाताहरूको सहभागिता रहेको थियो। जिल्ला कार्यसमितिले यसअघि जारी गरेको सूचनामार्फत विभिन्न तहमा रहेका नेता, कार्यकर्ता तथा श्रमदातालाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको थियो।

मकवानपुर जिल्ला प्रथम वार्षिक उत्सव तथा विशेष श्रमदान कार्यक्रमको प्रमुख अतिथिका रूपमा जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष युनिस लामा (सिन्तान) सहभागी थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामा (बज्यु), केन्द्रीय सदस्य मन्दिरा मोक्तान, बागमती प्रदेश उपाध्यक्ष किशोर राणा, प्रदेश सहप्रवक्ता मर्सी मोक्तान र प्रदेश सदस्य मणिलगायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामाका अनुसार वार्षिक उत्सवको अवसरमा हेटौंडा–४ स्थित हुप्रचौरलाई केन्द्रित गरी विशेष तथा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको हो। जिल्लामा सुरु गरिएको श्रम अभियानलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

श्रम संस्कृति पार्टी मकवानपुरले जिल्लामा श्रम अभियानलाई निरन्तरता दिने क्रममा सार्वजनिक स्थानको सरसफाइ तथा श्रमदानका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.