गोप्य सूचना चुहाउनेमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौं, असोज २० गते । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारीको मर्यादा कायम राख्नुपर्ने बताएका छन्।

गृहमन्त्री गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी वा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।

उनले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारीको विषय भएको उल्लेख गरेका छन्। पदका कारण प्राप्त हुने सूचनामा पहुँचलाई व्यक्तिगत स्वार्थ वा अन्य प्रयोजनका लागि दुरुपयोग गर्न नहुने उनको भनाइ छ।

गृहमन्त्री गुरुङका अनुसार गृह मन्त्रालय तथा मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्छ।
राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गर्ने विषयलाई गम्भीर रूपमा लिइने चेतावनी दिँदै उनले जानाजान गोप्य सूचना चुहाउने जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताएका छन्।

उनले राज्यको गोपनीयता र संवेदनशील सूचनाको संरक्षण गर्नु सम्बन्धित पदाधिकारी तथा कर्मचारीको जिम्मेवारी भएको उल्लेख गर्दै त्यस्तो जिम्मेवारीबाट विचलित हुने व्यक्तिलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.