बालेन्द्र सरकारप्रति जनताको विश्वास घट्दै गएको एमाले नेता सिग्देलको दाबी

हेटौंडा, असोज २० गते । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले वर्तमान सरकारप्रति जनताको विश्वास क्रमशः घट्दै गएको दाबी गरेका छन्।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा आयोजित नेकपा एमालेको नवनिर्वाचित वडा कमिटीको सपथग्रहण कार्यक्रममा बोल्दै सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले ठूलो मत दिएर एकलौटी सरकार सञ्चालनको अवसर दिए पनि सरकारको कार्यसम्पादनबाट जनता निराश बन्दै गएको बताए।

उनले समाजमा अराजकता, हत्या, हिंसा र असुरक्षाका घटना बढ्दै गएको भन्दै नागरिकले आफूलाई असुरक्षित महसुस गर्ने अवस्था सिर्जना भएको दाबी गरे। दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको अभाव र बढ्दो महँगीका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको उनको भनाइ थियो।

सिग्देलले राष्ट्रियता, संविधान र लोकतन्त्र चुनौतीमा पर्दै गएको तथा विकास र समृद्धिको यात्रामा अवरोध देखिएको अवस्थामा एमालेका नेता तथा कार्यकर्तामाथि थप जिम्मेवारी आएको बताए।

उनले पार्टीले विगतमा गरेका सकारात्मक कामलाई जनतासमक्ष पुर्‍याउनुपर्ने र कमजोरी भएका ठाउँमा आत्मसमीक्षा गर्दै सुधारका लागि अघि बढ्नुपर्नेमा जोड दिए। जनताको कुरा सुन्ने, सुझाव लिने र जनताकै सुझावअनुसार पार्टीको गतिविधि सञ्चालन गर्न सबै तहका नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो।

“समस्या छ, समस्याको साथी एमाले हो भन्ने विश्वास जनताले खोजिरहेका छन्,” सिग्देलले भने, “हामी जुट्दै, उठ्दै र उत्साहपूर्वक पार्टी तथा जनताको काममा लाग्नुपर्छ।”

गत असोज ६ गते सम्पन्न नेकपा एमाले मकवानपुरगढी गाउँपालिका–५ को चौथो वडा अधिवेशनले रमेश तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको थियो। कमिटीको उपाध्यक्षमा दिलकुमारी घिसिङ, सचिवमा शिवराज तिमल्सिना तथा उपसचिवमा अशोक बजगाईं र नवराज धिताल चयन भएका छन्।

सपथग्रहण कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा प्रदेश कमिटी सदस्य निर्मला लम्साल, विदुर हुँमागाईं, मेम्बर लो, जिल्ला सदस्य नवराज खतिवडा, पालिका कमिटी अध्यक्ष जीतबहादुर घिमिरे, सचिव रोमनाथ रेग्मीलगायतको उपस्थिति रहेको नवनिर्वाचित वडा अध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.