अब सवारी दर्ता र नामसारीका लागि सवारी धनी यातायात कार्यालय धाउन नपर्ने

काठमाडौं, असोज २६ गते । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी साधनको दर्ता तथा नामसारी गर्न सकिने भएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। यससँगै सवारी साधनको जाँच प्रक्रियामा समेत सहजीकरण गरिएको छ।

नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यसअघि सवारी साधनको दर्ताका लागि यातायात व्यवस्था कार्यालयमा पुनः लगेर जाँच गराउनुपर्ने अवस्था रहेकामा अब त्यस्तो झन्झट हटाइएको छ।

त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि सवारी दर्ता तथा नामसारीको काम गर्न सक्नेछन्। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ।

मन्त्रालयका अनुसार सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। यस व्यवस्थाले सवारी धनीलाई कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै समय र खर्च बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, सवारी साधन नामसारीका क्रममा आवश्यक पर्ने बायोमेट्रिक विवरण लिन सकिने व्यवस्था पनि मिलाइने भएको छ। त्यसका लागि यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा सम्बन्धित कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने जनाइएको छ।

संशोधित व्यवस्थाले सवारी साधनको दर्ता, नामसारी तथा बीमासम्बन्धी सेवामा देखिँदै आएको प्रशासनिक झन्झट कम गर्दै सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.