खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे रास्वपाको ध्यानाकर्षण, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाडौं, असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चार माध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपहरू समेटिएको उल्लेख गर्दै ती विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।

विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

यस विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको रास्वपाले जनाएको छ। छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले अनुसन्धान निष्कर्षमा नपुग्दासम्म खगेन्द्र सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले स्पष्ट पारेको छ।

त्यसैगरी, सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पार्टीले व्यक्त गरेको छ। राज्यका निकायले अघि बढाउने अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत रास्वपाले जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पार्दै पार्टीले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय लिने जनाएको छ।

हाल सार्वजनिक भएका विषयहरू आरोप तथा प्रश्नका रूपमा रहेका छन्। तिनको सत्यतथ्य र जिम्मेवारीबारे निष्कर्ष भने निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.