बकैया । मकवानपुरको बकैया गाउँपालिका–७, भिरकोटस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा यही चैत ३१ गते आइतबार बिहान ७:३० बजेदेखि सुरु हुन गइरहेको विशेष समारोहमार्फत भूमिहीन सुकुम्बासी तथा दलित समुदायलाई जग्गाको लालपुर्जा वितरण गरिने भएको छ ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीको प्रमुख आतिथ्यता रहने जनाईएको छ ।
लामिछानेले जानकारी दिएअनुसार सो कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरू, जिल्लास्तरीय राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समिति तथा टोल विकास समितिका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
लामिछानेले वडानम्बर ४ र ७ का भूमिहीन सुकुम्बासी र दलित परिवारलाई लालपुर्जा वितरण गरिने जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला पक्षलाई उपस्थितिका लागि आग्रह समेत गरिएको छ ।















