देशभर कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ। भोलि आइतबारदेखि देशभर कक्षा १२ को परीक्षा सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुनेछन्। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ।

देशभरका ५ हजार २ सय २ वटा विद्यालयका विद्यार्थीहरूका लागि १ हजार ५ सय ९१ वटा परीक्षा केन्द्र तोकिएका छन्। विशेषगरी, जापानस्थित एभरेस्ट स्कुलका ३८ जना विद्यार्थीले त्यहीँको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। ७७ जिल्लामध्ये सबैभन्दा कम परीक्षार्थी मनाङमा रहेका छन्, जहाँ जम्मा ४५ जना विद्यार्थी सहभागी हुनेछन्।

काठमाडौं उपत्यकामा भने सबैभन्दा धेरै ६८ हजार १ सय ३३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षा केन्द्रको हिसाबले पनि काठमाडौंमा सबैभन्दा बढी १ सय ६२ वटा केन्द्र तोकिएका छन् भने मनाङ र मुस्ताङमा १/१ वटा मात्र परीक्षा केन्द्र रहेका छन्। जेठ २ गतेसम्म सञ्चालन हुने यो परीक्षालाई व्यवस्थित बनाउन ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन्। यसअघि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण वैशाख ११ गतेका लागि तय भएको परीक्षा १० दिन पछि सारिएको थियो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित र विद्यार्थीमैत्री वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन्। प्रदेशगत रूपमा हेर्दा, कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ जना र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० जना विद्यार्थी सहभागी हुँदैछन्।

बोर्डका अनुसार कोशी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेश प्रदेशबाट ६९ हजार ८ सय ८, गण्डकी प्रदेशबाट ४३ हजार ३ सय ४९, लुम्बिनी प्रदेशबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिम प्रदेशबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.