नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राईलाई नदीले बगाएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।
घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय र सुरक्षाकर्मीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य तीव्र पारेको छ। एसपी रेग्मीका अनुसार, बालिका बेपत्ता भएलगत्तै खोजी थालिए पनि बुधबार बिहानसम्म उनीहरूको अवस्था अज्ञात छ।
यसैबीच, सशस्त्र प्रहरी बलले पनि बेपत्ता बालिकाको खोजीका लागि विपद् व्यवस्थापनमा तालिम प्राप्त सुरक्षा फौज परिचालन गरेको जनाएको छ। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिरस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङ्गको कमाण्डमा सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासी दुवै मिलेर बालिकाको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।














