काठमाडौं। सर्वोच्च अदालतले विदेशमा रोजगारीका क्रममा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आफ्नो यसअघिको आदेशलाई तत्काल कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आज (साउन १ गते) निर्वाचन आयोगलाई यस्तो ताकेता सहितको आदेश दिएको हो।
सर्वोच्च अदालतले २०७४ चैत ७ गते नै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो। अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त महत्वपूर्ण आदेश दिएको थियो।
अदालतको उक्त आदेश लामो समयसम्म कार्यान्वयन नभएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले निर्वाचन आयोगलाई पुनः ताकेता गरेको हो।
अदालतको आदेशमा भनिएको छ, “विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिनसक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहेको नागरिकहरूको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान गर्नसक्ने वातावरण मिलाउनू।”
यस आदेशले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने दिशामा निर्वाचन आयोगलाई थप दबाब परेको छ।














