श्रमिकको न्यूनतम तलब वृद्धि भएर १९,५५० पुग्यो

काठमाडौं। सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरी १९ हजार ५ सय ५० रुपैयाँ पुर्‍याएको छ। यो वृद्धि साउन १ गतेदेखि नै लागू भएको छ।

सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमतिअनुसार चिया बगानबाहेकका क्षेत्रमा कार्यरत श्रमिकका लागि नयाँ पारिश्रमिक तोकिएको हो। यसअघि श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो, जसमा २ हजार २ सय ५० रुपैयाँले वृद्धि भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा यो निर्णय गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन सहमतिको आधारमा तलब निर्धारण गरिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै श्रम बिना प्रगति सम्भव नहुने र अहिलेसम्म करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको बताएका छन्।

श्रम ऐन–२०७४ को दफा १०७ अनुसार हरेक दुई आर्थिक वर्षमा न्यूनतम तलब निर्धारण गर्नुपर्ने व्यवस्था छ। चिया बगानको हकमा भने सरोकारवाला पक्षसँग थप छलफलपछि मात्रै पारिश्रमिक निर्धारण हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.