नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा: रञ्जिता बर्खास्त, लालवीर अध्यक्ष

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ मोड लिएको छ। बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाले पार्टी संरक्षक रेशम चौधरीका बुबा एवं प्रतिनिधिसभा सदस्य लालवीर चौधरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

यो निर्णय हुनुभन्दा पहिले नै पार्टीले निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेको थियो।
भेला आयोजक पक्षका अनुसार, रञ्जिता श्रेष्ठले विधानको उल्लंघन गर्दै पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएको र लामो समयदेखि पार्टीको बैठकसमेत नडाकेकाले संरक्षक रेशम चौधरी असन्तुष्ट बनेका थिए।

यसपछि बहुमत संस्थापक सदस्यहरूको बैठकले रञ्जितालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले उनीमाथि कारबाहीका लागि राष्ट्रिय भेलामा प्रस्ताव पेस गर्यो र सोही प्रस्तावअनुसार बुधबारको भेलाले श्रेष्ठलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

नवनिर्वाचित अध्यक्ष लालवीर चौधरीले भेलापछि पत्रकार सम्मेलनमा बोल्दै पार्टीलाई विधि र पद्धतिमा फर्काउन यो कदम चाल्न बाध्य भएको बताए। उनले विगत डेढ वर्षदेखि पार्टी बैठक नबसेकाले पार्टी अनिर्णयको बन्दी बनेको र रुपन्देहीमा नजिकिँदै गरेको उपनिर्वाचनमा उम्मेदवारी प्रक्रिया अगाडि बढाउनसमेत यो निर्णय अपरिहार्य रहेको स्पष्ट पारे।

यता, निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठले भने भेलाको निर्णयलाई ठाडै अस्वीकार गरेकी छन्। उनले आफू नै विधानसम्मत अध्यक्ष रहेको र भेलाको कुनै औचित्य नरहेको दाबी गर्दै आएकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.