हेटौंडा,भदौ ५ । गते हालै भारत र चीनबीच लिपुलेक नाका खोल्ने सहमति भएपछि नेपालका विभिन्न विद्यार्थी संगठनहरू आक्रोशित भएका छन्। संयुक्त रूपमा ११ विद्यार्थी संगठनले एकजुट हुँदै एक प्रेस वक्तव्य जारी गर्दै उक्त सम्झौताप्रति गम्भीर आपत्ति जनाएका छन्।
विद्यार्थी संगठनहरूले भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको वार्तालाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पुर्याउने कुटनीतिक अपराध भनेका छन्।
वक्तव्यमा भनिएको छ कि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग नेपालकै भूभाग हो र त्यहाँ भारत वा चीनसँग कुनै सम्झौता गर्नु नेपालको सार्वभौमिकताको उल्लंघन हो। विद्यार्थी संगठनहरूले तत्काल उक्त सम्झौता खारेज गर्न भारत र चीनलाई आग्रह गरेका छन्।
तिनीहरूले नेपाली भूमिमा यस्ता किसिमका गतिविधि रोक्नका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने, साथै संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउनुपर्ने माग गरेका छन्।
साथै, विद्यार्थी संगठनहरूले राष्ट्रियता, भूगोलिक अखण्डता र सार्वभौमिकताको रक्षार्थ एकजुट भएर सशक्त आन्दोलनमा उत्रन विद्यार्थी, जनसमुदाय र देशप्रेमी सबैलाई आह्वान गरेका छन्।














