हेटौंडा, भदौ १२ गते । जनता समाजवादी पार्टी नेपालको ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हिजो हेटौंडा–१० स्थित दर्शन पार्टी प्यालेसमा सम्पन्न भएको छ। अधिवेशनले पार्टीको स्थानीय नेतृत्व चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको छ।
मकवानपुर जिल्लाबाट अध्यक्ष पदमा दुई उम्मेदवारी परेपछि निर्वाचन मण्डलले लोकतान्त्रिक विधिबाट निर्वाचन प्रक्रियामार्फत प्रतिस्पर्धा गराएको थियो। कुल २७ जना मतदाता रहेकोमा एकजना अनुपस्थित भई २६ मतदातामध्ये बहुमतका आधारमा अध्यक्ष पदमा जीवन पाख्रिन २० मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी जीवन मान मोक्तान रहेका थिए।
अन्य पदमा भने अधिकांश प्रतिनिधि निर्विरोध चयन भएका छन्। उपाध्यक्षमा मानबहादुर तामाङ र सह–उपाध्यक्षमा संगीता मण्डल निर्विरोध निर्वाचित भए। सचिव पदमा कामे शेर्पा २१ मत प्राप्त गर्दै विजयी भए भने सह–सचिवमा आशिष मिया १४ मतसहित निर्वाचित भए। कोषाध्यक्षमा उत्तम कुमार तामाङ निर्विरोध चयन भए। सदस्यहरुमा प्रेम तामाङ, यमुना शर्मा, संगीता महत्वलगायत निर्विरोध चयन भएका हुन्।

निर्वाचन पश्चात अध्यक्षमा निर्वाचित जीवन पाख्रिनले सबै शुभेच्छुक, मित्र, र समर्थकप्रति आभार प्रकट गर्दै, पार्टीलाई एक निश्चित गन्तव्यमा पुर्याउने दृढ प्रतिवद्धता व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा समावेशी सोच, सहकार्य र पारदर्शितामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।














