काठमाडौं, भदौ २३ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले काठमाडौँमा शान्तिपूर्ण ढंगले भइरहेको विद्यार्थी आन्दोलनलाई सरकारले बलपूर्वक दमन गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
आज भदौ २३ गते राजधानीमा जनरेशन जेड (Gen Z) पुस्ताले राज्य संरचनामा देखिएको भ्रष्टाचार, बेरोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र समानताका सवालमा उठाएको आवाजलाई सरकारले दमन गर्न खोजेको भन्दै जसपा नेपालले कडा शब्दमा विरोध गरेको हो।
जसपा नेपालका महासचिव रामकुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका घटनाप्रति पार्टीले गहिरो दुःख प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीले अघि सारेका मागहरूमाथि सरकारले ध्यान नदिइ दमन गर्ने काम असंवैधानिक मात्र नभई निन्दनीय पनि हो।” जसपा नेपालले सरकारले तत्काल दमन रोक्दै सामाजिक न्याय, समानता र सुशासनका सवालमा युवा पुस्ताले उठाएका आवाजलाई सम्बोधन गर्न संवाद र सहमतिमार्फत समाधान खोज्न माग गरेको छ।
पार्टीले विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा लिँदै त्यसलाई दबाउने कार्य बन्द गर्न पनि सरकारसँग आग्रह गरेको छ।














