काठमाडौं, भदौ २५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ।
उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान–अवतरण मार्गमा देखिएको धुवाँका कारण विमानको सुरक्षा गम्भीर रूपमा प्रभावित हुन सक्ने देखिएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
विमानस्थल बन्द रहेको समयमा यात्रु महानुभावलाई अनावश्यक रूपमा विमानस्थलमा नआउन तथा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थल आउन प्राधिकरणले आग्रह गरेको छ।
यस निर्णयका कारण यात्रुवर्गमा असुविधा भएकोप्रति प्राधिकरणले क्षमा प्रार्थना गर्दै, परिस्थिति सामान्य भएसँगै विमानस्थल सञ्चालनबारे थप सूचना दिने जनाएको छ।












