काठमाडौं, भदौ २५ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देशलाई सुनौलो भविष्यतर्फ डोर्याउन जेन जी पुस्ताले उठाएको आन्दोलन र प्रस्तावलाई पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै अहिले देश इतिहासकै संवेदनशील मोडमा रहेको भन्दै धैर्य र एकताको आवश्यकता रहेको बताएका छन्।
उनका अनुसार अब देश अन्तरिम सरकारको दिशामा अगाडि बढ्दैछ, जसको मुख्य दायित्व चुनाव सम्पन्न गरी नयाँ जनादेश दिलाउने हुनेछ। शाहले जेन जीबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीप्रति पूर्ण समर्थन जनाउँदै, युवाहरूको सुझबुझ र विवेकको प्रशंसा गरेका छन्।
साथै उनले नेतृत्वमा चाँडै आउने हतार नगरी स्थायी समाधानका लागि लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्न युवाहरूलाई आग्रह गरेका छन्। “तपाईँहरूको जोश, सोच र इमान्दारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन,” उनले लेखेका छन्।

शाहले राष्ट्रपतिलाई पनि तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्, जसले जेन जीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्ने बताइएको छ।












