हेटौंडा, अशोज १ गते । जेन जि युवा पुस्तकद्वारा सुरु गरिएको आन्दोलनका क्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा भीषण क्षति पुगेको छ। मन्त्रालयका अधिकांश कोठा र संरचनाहरू जलेर नष्ट भएका छन् भने केही महत्त्वपूर्ण कागजात र सम्पत्ति चोरीसमेत भएको मन्त्रालयका अधिकृत अमृत अधिकारीले जानकारी दिएका छन् ।

२४ गतेदेखि सुरु भएको आन्दोलनपछि २५ गतेदेखि मन्त्रालयले ग्राउन्ड चौर र क्यान्टिनमा बसेर काम अघि बढाइरहेको छ। अधिकारीका अनुसार स्टोर शाखा, लेखा शाखा र उच्च शिक्षासम्बन्धी शाखाका भवनहरू पूर्णरूपमा जलेका छन्। प्रशासन महाशाखाको एउटा कोठा मात्र सुरक्षित रहेकाले हाल त्यसैबाट काम चलाइरहेको छ।
आगजनी र तोडफोडका कारण सचिवालय, मन्त्रीको कार्यकक्षलगायतका कोठामा पनि ठूलो क्षति पुगेको छ। “महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भए पनि केही कागजात बचाउन सरसफाईक्रममै प्रयास भइरहेको छ,” अधिकारीले भने।
मन्त्रालय मातहतका कम्प्युटर, ल्यापटप, कुर्सी, सभाहलका प्रोजेक्टरसहितका उपकरण चोरी भएको र केही सवारी साधनहरूलाई समेत लाइनमा राखेर जलाइएको छ। पाँचवटा मोटरसाइकल र स्कुटर पूर्णरूपमा नष्ट भएको जनाइएको छ।
प्रहरीले भौतिक संरचनाको मुचुल्का तयार पारेको भए पनि वास्तविक आर्थिक मूल्याङ्कन अझै बाँकी रहेको अधिकारीले बताएका छन्। साथै, आन्दोलनकारीहरूले मन्त्रालयका सिसी क्यामेरा र स्टोरेज बक्स नै जलाएपछि सम्भावित तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न कठिन भएको अधिकारीको भनाइ छ।














