लालझाडी–चौकीटोल जोड्ने पुल निर्माण ढिलाइ: जोखिमयुक्त आवतजावतबाट स्थानीय त्रासित, ८ करोड ४७ लाखको परियोजना पुनः म्याद थपिएर निर्माण जारी

हेटौंडा, कात्तिक २९ गते । हेटौडा उपमहानगरपालिका–१ लालझाडीका बासिन्दा लामो समयदेखि सुरक्षित आवतजावतका अभावमा गम्भीर समस्यामा परिरहेका छन्। लालझाडी र चौकीटोल बजार बीच तिर्खण्डी–कुलेखानी खोलाले दुबै बस्तीलाई छुट्याउँदा विशेषगरी बर्खायामामा गाउँ पुग्न कठिन हुँदै आएको स्थानीयले बताएका छन्।

खोलाबाट वारपार गर्न वैकल्पिक सडक मार्गको अभाव र पुल निर्माणमा ढिलाइ हुँदा दैनिकी, व्यापार–व्यवसाय, विद्यार्थीहरू तथा बिरामी विशेष गरी सुत्केरी महिलाको आवतजावतमा ठूलो जोखिम बनेको स्थानीयको गुनासो छ।

स्थानीय देवकुमार घिसिङ भन्छन्ः “पहिले त हामीले तुइन झुण्ड्याएर जोखिमपूर्ण ढंगले आवतजावत गर्थ्यौँ। त्यही आवतजावत गर्ने क्रममा एक वृद्ध झर्दा मृत्यु समेत भएको थियो। पुल निर्माण सुरु त भयो, तर आजसम्म पूर्ण हुन सकेको छैन।”

समुदायले पटक-पटक स्थानीय तहसँग माग गरेपछि पुल निर्माणको प्रक्रिया अघि बढेको थियो। तर निर्धारित समयमै काम नसकिँदा समस्याको चपेटा अझै उस्तै छ। घिसिङ भन्छन्: “खोलाको बाटो कहिले खोला बढ्छ, कहिले बगाउँछ कि भन्ने डर सधैं रहने गरेको छ।”

✦ महिलाहरू र बालबालिकाको जीवन अझै कष्टप्रद !

स्थानीय शर्मिला घलान भन्छिन्: “रासन ल्याउन होस् वा बच्चालाई स्कुल पुर्‍याउन, खोलाकै जोखिम लिएर वारपार गर्नुपर्ने अवस्था छ। झोलुङ्गे पुल त छ, तर त्यो ठाउँ पुग्नै एक घण्टा लाग्छ।”

स्थानीय माइली माया तामाङको पीडा पनि उस्तै छ। “सानो घुम्ती पसल चलाएर गुजारा गर्छु। तर सामान लिन पनि खोलातिरै जानुपर्छ। हामी वृद्ध–वृद्धालाई त्यो बाटो ठाउँ-ठाउँमा कसैले बोकेर लैजानुपर्ने हुन्छ। पुल बन्यो भने त हाम्रो जीवन स्वर्ग जस्तै हुने थियो।”

गाउँमा आपतकालीन स्वास्थ्य संकट पर्दा सुत्केरी महिला तथा बिरामीलाई एक घण्टा स्टेचरमा बोकेर हेटौंडा पुर्‍याउनुपर्ने अवस्था छ, जसले ज्यानमै जोखिम बढाइरहेको स्थानीयको अनुभव छ।

✦ ८ करोड ४७ लाख लागतको पुल, २०७८ मै सम्झौता तर अपूर्ण !

वडा अध्यक्ष सबिन न्यौपानेका अनुसार :- हेटौंडा–१ चौकीटोलबाट लालझाडी जोड्ने पुल निर्माणको सम्झौता २०७८ जेठ १८ गते शिवशक्ति सिद्धार्थ शिवम जेभी, हेटौंडा–४ सँग गरिएको थियो।

निर्माण म्याद: २०८० जेठ १७ गते !

तर समयमा काम पूरा हुन सकेन। न्यौपानेका अनुसार विलम्ब हुनुका मुख्य कारणहरू—

पुल निर्माणसँग सम्बन्धित सामाग्री र डन्डीको मूल्यवृद्धि !

ठेकेदार पक्षबाट काममा सुस्तता !

उनका शब्दमा: “पुलको लागत रकम करिब ८ करोड ४७ लाखको छ। १२० मिटर लम्बाइ, ११ मिटर चौडाइ र तीनवटा स्तम्भ भएको पुल हो। हालसम्म केवल पिल्लर निर्माणको काम सम्पन्न भएको छ। अहिले पुनः म्याद थपेर काम जारी छ र २०८२ साल चैत्र मसान्तसम्म निर्माण सक्ने अपेक्षा छ।”

✦ पुल बनेमा लाभ हुने क्षेत्र !

यो पुल बनेपछि—

लालझाडीका १२४ घरधुरी प्रत्यक्ष लाभान्वित
चौकीटोल हुँदै मनहरी गाउँपालिका सम्म पहुँच सहज
व्यापारिक तथा कृषि उत्पादन आवतजावतमा सुधार
विद्यार्थी र बिरामी बोकाएर लैजानुपर्ने जोखिम समाप्त

✦ निष्कर्ष

लालझाडीका स्थानीय वर्षौंदेखि जीर्ण अवस्थाको जोखिमपूर्ण बाटो र खोलाको बहावसँग संघर्ष गरिरहेका छन्। तुइनको दुःखद इतिहास, गर्भवती महिला र बालबालिकाको जोखिमपूर्ण आवतजावत र स्थायी पुल निर्माणको अपूर्णताले यहाँको दैनिकी आज पनि चुनौती नै छ।

स्थानीयको अपेक्षा छ—

निर्धारित म्यादभित्र पुल निर्माण सम्पन्न भई सुरक्षित आवतजावतको अधिकार सुनिश्चित होस्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.