मोरङ, मंसिर ७ गते । मोरङको विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेन–जि समूहका युवाहरूले रातो मसी प्रहार गरेका छन्। युवा संघ कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरीतर्फ जाँदै गर्दा एयरपोर्ट सडकखण्डमा लुकेर बसेका युवाहरुले दगुर्दै बस्नेत सवार गाडीमाथि बेलुनमार्फत रातो रंग फ्याँकेका हुन्।
प्रहरी भ्यान पछिपछि चलिरहेको क्रममा अचानक सडकछेउबाट युवाहरूले ‘मसी प्रहार’ गरेपछि बस्नेत चढेको गाडी केहीबेर रोकिन बाध्य भएको प्रत्यक्षदर्शीले बताए। घटना पछि प्रहरीले विराटनगर–२ का १९ वर्षीय आर्जित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।
घटना भएपछि समेत दुुवै युवाले बस्नेतविरुद्ध नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। पक्राउ परेका संजोग गौतमले बस्नेत र एमाले नेतृत्वप्रति सांगीतिक शैलीमा विरोध जनाउने उद्देश्यले रातो मसी फ्याँकेको बताएका छन्।
नेता बस्नेतले पनि गाडीमाथि रातो मसी प्रहार भएको स्वीकार गर्दै केही युवाहरूले एयरपोर्ट साइटको नजिकबाट लुकेर बेलुन हानेको बताएका छन्। “कार्यक्रममा जान अवरोध पुर्याउनु लोकतन्त्रमा उपवासजस्तै हो,” उनले प्रतिक्रिया दिए।
उता युवा संघका नेता अरुण गुरुङले समेत घटनालाई पुष्टि गर्दै बस्नेतमाथि युवाहरूले नाराबाजी गरेका बताएको छन्। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियान कार्यक्रममा सहभागी हुन बस्नेत काठमाडौँबाट कोशी प्रदेश पुगेका थिए।
यसअघि पनि बस्नेत जनसङ्गठनका कार्यक्रममा जान खोज्दा विभिन्न ठाउँमा जेन–जि युवाबाट नाराबाजी र प्रतिरोध सामना गर्दै आएका छन्। केही समय अघि बारा–सिमरामा गरिएको उनको कार्यक्रमसमेत स्थानीय युवाको विरोधका कारण रोकिएको थियो, जसपछि त्यहाँ दुई दिनसम्म कर्फ्युसमेत लगाइएको थियो।
यतिबेला देशका विभिन्न स्थानमा एमालेविरुद्ध नाराबाजी र भिडन्तको अवस्था देखिएपछि सुरक्षा निकायले बस्नेतलगायत एमाले शीर्ष नेताको सुरक्षामा विशेष सतर्कता अपनाएको बताइएको छ।
समसामयिक राजनीतिक वातावरणमा बस्नेतले जेन–जि पुस्तामाथि अभिव्यक्त गरेका विवादास्पद भनाइहरू नै युवाको कडा प्रतिरोधको प्रमुख कारणको रूपमा हेरिएको छ।














