काठमाडौं, मंसिर १३ गते । हेटौंडामा विनामुआव्जा सडक विस्तार गर्ने तयारीसँगै यसको समर्थनमा देखिएका विभिन्न समूह र व्यक्तिहरूलाई लक्षित गर्दै भैरव समूहका संयोजक दिभेष शाक्यले सामाजिक सञ्जालमार्फत कडा प्रश्न उठाएका छन्। उनले विकासको नाममा स्थानीय बस्ती, जनजीवन र क्षेत्रको दीर्घकालीन योजनालाई कमजोर पार्ने निर्णय भइरहेकाे भन्दै स्पष्ट जवाफ मागेका हुन्।
शाक्यले हेटौंडाको स्वास्थ्य, शिक्षा र सडक सुरक्षाजस्ता आधारभूत क्षेत्रमै चुनौतीहरू रहँदा विकासको वास्तविक प्राथमिकता के हो भन्ने प्रश्न खडा गरेका छन्। उनका अनुसार हेटौंडाको स्वास्थ्य सेवा अझै पनि भरतपुर वा काठमाडौंमा निर्भर रहन बाध्य छ भने, गुणस्तरीय उच्चशिक्षाका विकल्प पनि सीमित छन्।
सडक विस्तारको नाममा विनामुआव्जा बस्ती भत्काउने अभ्यासले भोलि यिनै समर्थकका घर–परिवार पनि प्रभावित हुन सक्ने चेतावनी दिंदै उनले विकसित शहरको परिकल्पना मानव हितभन्दा माथि हुन नहुने बताए। बस्ती–बजार क्षेत्रमा ठूला सवारी साधन संचालन हुँदा जनसुरक्षा कसले लिन्छ भन्ने जिज्ञासासहित उनले बाइपासलाई वैकल्पिक मार्ग बनाउने प्रयास किन नगर्ने भन्ने प्रश्न पनि उठाएका छन्।
‘नेपालमा विकासको मापदण्ड के केवल सडक बनाउनु मात्रै हो? यदि हो भने पहिले हेटौंडा–काठमाडौं मार्गलाई नै शतप्रतिशत सुरक्षित र स्तरीय बनाएर देखाउनुपर्छ,’ शाक्यको पोस्टमा उल्लेख छ।
उनका यी अभिव्यक्तिले हेटौंडामा भइरहेको सडक विस्तारप्रति स्थानीय सरोकारवालाबीच नयाँ बहस र प्रतिक्रियालाई थप चर्किएको छ।














