हेटौँडा, साउन १३ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले भैरवरोड क्षेत्रमा वर्षायाममा हुने पानी जम्ने समस्याको समाधानका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताएका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष सिग्देलले आफूहरू समस्या समाधानका विषयमा मौन नभएको उल्लेख गरेका छन्। उनले “हामी चुपचाप छैनौँ, पहल जारी छ” भन्दै भैरवरोडको पानीको दह हटाउन दुईवटा मुख्य काम गर्न आवश्यक रहेको बताएका छन्।
उनका अनुसार पहिलो, पानी सहज रूपमा बग्न सक्ने निकासको व्यवस्था गर्नुपर्नेछ। दोस्रो, भूमिगत ढलका जिर्ण तथा बिग्रिएका चेम्बरहरूको पुनर्निर्माण र मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ, जसका कारण ढलको बहाव प्रभावित भएको उनले बताएका छन्।
अध्यक्ष सिग्देलले यी दुवै कामका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै आर्थिक वर्ष परिवर्तनसँगै बजेट स्रोत टुङ्ग्याउन केही समय लागेको उल्लेख गरेका छन्। स्रोत सुनिश्चित हुनेबित्तिकै आवश्यक प्रक्रिया पूरा गरी निर्माण तथा मर्मतको काम अघि बढाइने उनले बताएका छन्।
उनले भैरवरोडको लामो समयदेखिको जलजमाव समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै स्थानीयवासीलाई केही समय धैर्य गर्न आग्रह गरेका छन्।














