हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

हेटौंडा, साउन ५ गते । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सम्पूर्ण लाभग्राहीलाई भत्ता नियमित रूपमा प्राप्त गर्न निर्धारित अवधिभित्र अनिवार्य रूपमा नवीकरण गर्न आग्रह गरेको छ।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण २०८३ साउन १ गतेदेखि असोज मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ। कार्यालय समयमा सेवाग्राहीको अत्यधिक चाप हुने तथा सामाजिक सुरक्षा नवीकरण प्रणालीमा समेत प्राविधिक समस्या आउन सक्ने भएकाले लाभग्राहीको सहजताका लागि विशेष समय तालिका निर्धारण गरिएको जनाएको छ।

सूचनाअनुसार नवीकरण हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म, बेलुकी ४ बजेदेखि ६:३० बजेसम्म तथा सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्न सकिने व्यवस्था गरिएको छ।

नवीकरणका लागि लाभग्राही स्वयं वडा कार्यालयमा उपस्थित भई नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर तथा सामाजिक सुरक्षा परिचयपत्र (कार्ड) साथमा ल्याउनुपर्ने वडा कार्यालयले जनाएको छ।

यद्यपि, अपाङ्गता भएका, ओछ्यानमा परेका बिरामी तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने उल्लेख गरिएको छ। साथै हिँडडुल गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति वा ओछ्यानमा परेका बिरामीको हकमा घरपरिवारका सदस्यले आवश्यक प्रमाणपत्र तथा सम्बन्धित कागजात संलग्न गरी निवेदन दिएर नवीकरण गराउन सकिने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले सबै लाभग्राहीलाई तोकिएको समयमै नवीकरण प्रक्रिया पूरा गरी सामाजिक सुरक्षा भत्ता नियमित रूपमा प्राप्त गर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.