काठमाडौं, मंसिर २३ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले वर्षौंदेखि रोकिँदै आएका डिप्लोमा कार्यक्रमहरू पुनः सञ्चालन गर्न इच्छुक शैक्षिक संस्थाहरूलाई १० दिनभित्र मन्त्रालयमा जानकारी गराउन आग्रह गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै २०६९ सालदेखि हालसम्म CTEVT बाट सम्बन्धन लिएर आवेदन दिएका, पूर्वाधार निरीक्षण गरिएका, LOI प्राप्त गरेका वा स्थलगत निरीक्षण भइसकेका–नभइसकेका सबै प्रकारका निजी तथा अन्य संस्थाहरूले पुरानो निवेदनको फोटोकपीसहित पुनः सूचना दिनुपर्ने बताएका छन्।
मन्त्री पुनका अनुसार तीमध्ये कार्यक्रम सञ्चालन गर्न नचाहने संस्थाहरूले भने नयाँ निवेदन दिनु नपर्ने स्पष्टिकरण दिएका छन्। उनका अनुसार सबै निवेदनहरूको छानबिन द्रुत गतिमा भइरहेको छ र कार्यान्वयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसँगै उक्त सूचना जारी गरिएको हो।














