रौतहट, पुस २५ गते । पछिल्ला दिनहरूमा केही स्थानमा सुनिएको “हिन्दू भगाऊ, देश बचाऊ” नारा प्रति असहमति जनाउँदै रौतहटको सदरमुकाम गौरमा शुक्रबार हिन्दू जागरण र्याली सम्पन्न भएको छ। धार्मिक सहिष्णुता र आपसी सम्मानको सन्देश बोकेको उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा आयोजना गरिएको हो।

गौरस्थित राइस मिलको प्राङ्गणबाट दिउँसो १२ बजे सुरु भएको र्यालीमा हिन्दू समाजका हजारौँ नागरिक सहभागी भए। बाजागाजा, सवारी साधन र पैदल मार्चसहित अघि बढेको र्याली ट्रान्सफर चौक, भन्सार हुँदै बीपी चौक घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीका सहभागीहरूले धार्मिक आस्था, संस्कृति र परम्परामाथि आक्रमण अस्वीकार्य भएको स्पष्ट पार्दै नेपाल बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले सबै समुदायले एकअर्काको सम्मान गर्नुपर्नेमा जोड दिए। कोणसभामा वक्ताहरूले नेपालको इतिहास र पहिचानसँग सनातन हिन्दू परम्पराको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै धार्मिक द्वेष फैलाउने कुनै पनि गतिविधि तत्काल रोक्न सरकार र सुरक्षा निकायको सक्रिय भूमिका माग गरे।
कार्यक्रमका संयोजक मनोज यादवले नेपाल सबै धर्म र समुदायको साझा घर भएको बताउँदै शान्ति र सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको धारणा राखे। “धार्मिक भावनामा चोट पुग्ने कार्यको विरोध लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले गरिन्छ,” उनले भने।
जिल्ला प्रहरी कार्यालयका अनुसार कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। सम्भावित असहजता रोक्न सुरक्षाका उपाय कडा पारिएको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ।














