हेटौंडा, पुस २७ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा हेटौंडावासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन गर्दै आफ्नो राजनीतिक यात्राबारे धारणा राखेका हुन्।
शाक्यले सार्वजनिक जीवनमा पूर्ण निर्दोष व्यक्ति नहुने यथार्थलाई विनम्रतापूर्वक स्वीकार गर्दै, अनुभव, सिकाइ र सुधारका अवसरलाई आत्मसात गरेर अझ जिम्मेवार, पारदर्शी र उत्तरदायी भूमिकामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो यात्रालाई कुनै दबाब वा विवादले होइन, जनताबाट प्राप्त माया, भरोसा र विश्वास तथा स्पष्ट एजेन्डाले प्रेरित गरेको उल्लेख गरेका छन्।
उनले फरक विचार, सुझाव र आलोचनालाई लोकतन्त्रको सकारात्मक पक्षका रूपमा सम्मान गर्दै व्यक्ति होइन नीति र नीयतका आधारमा मूल्याङ्कन होस् भन्ने अपेक्षा पनि राखेका छन्। साथै, व्यक्ति वा विचारभन्दा माथि उठेर हेटौंडाको साझा भविष्यका लागि सहकार्य आवश्यक रहेको विश्वास व्यक्त गर्दै शान्त, मर्यादित र समावेशी संवादमार्फत अघि बढ्ने बताएका छन्।
शाक्यको यस अभिव्यक्तिलाई हेटौंडाको आगामी राजनीतिक गतिविधिसँग जोडेर विभिन्न कोणबाट चासोका साथ हेरिएको छ।














