हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

हेटौँडा, फागुन २९ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब ६ बजेर १० मिनेटतिर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको ट्रेलर र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ट्रेलर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका ३८ वर्षीय गोबिन्द चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनी स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए।

घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएको भए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.