चितवन,चैत २८ गते । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले हिजो (चैत्र २६ गते) भएको एक गम्भीर घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै निकुञ्जको कोर क्षेत्रमा गस्तीका क्रममा गैंडा आक्रमण भएको जनाएको छ।
निकुञ्ज सुरक्षार्थ खटिएको श्री नयाँ गोर्खागण अन्तर्गत सेती सुरक्षा पोस्टबाट खटिएको गस्ती टोली दिउँसो करिब १२:५० बजे नियमित गस्तीमा रहेको अवस्थामा बच्चासहितको अर्धवयस्क पोथी एकसिङ्गे गैंडासँग जम्का भेट भएको थियो।
गस्ती टोलीले सुरक्षात्मक उपाय अपनाउँदा अपनाउँदै पनि अचानक उक्त गैंडाले एकजना सिपाहीमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि टोलीका कमाण्डरले गैंडा धपाउन १० राउन्ड हवाई फायर गरे पनि गैंडा नभागेपछि थप ४ राउन्ड हवाई फायर गरिएको थियो।
तत्पश्चात पनि गैंडाले आक्रमण जारी राखेपछि सुरक्षाकर्मीको ज्यान जोगाउन बाध्य भई थप दुई राउन्ड गोली चलाइएको थियो। सो क्रममा चलेको गोली गैंडाको करङ (पेटभन्दा माथिल्लो भाग) मा लागेर करिब २४ वर्षको उक्त पोथी गैंडाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनापछि मृत गैंडाको खाग (खोर) सुरक्षित राखिएको छ भने निकुञ्जका पशु चिकित्सक टोलीले पोस्टमार्टम गर्दा गैंडाको फोक्सोमा प्वाल परेको पुष्टि भएको छ।
आक्रमणमा घाइते भएका सिपाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी श्री वीरेन्द्र अस्पताल मा लगेर उपचार भइरहेको बताइएको छ, जहाँ उनको सघन उपचार जारी छ।
निकुञ्ज प्रशासनले घटनाबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप सतर्कता अपनाइने जनाएको छ।















