हेटौडा,बैशाख २ गते । हेटौडाका सेवाग्राहीहरूका लागि राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अब हटेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबारदेखि हुलाक कार्यालय मकवानपुरसँगको समन्वयमा राहदानी घर–घरमै पुर्याउने सेवा सुरु गरेको हो।
नयाँ व्यवस्थाअनुसार राहदानी तयार भइसकेपछि सेवाग्राहीले कार्यालय पुग्नुपर्दैन; हुलाक मार्फत सिधै घरमै पुगेर हस्तान्तरण गरिन्छ। सेवा सुरु भएको पहिलो दिनमै हेटौडा उपमहानगरपालिका–४ का २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी पुर्याएर कार्यक्रमको औपचारिक थालनी गरिएको थियो। सो क्रममा हुलाकका कर्मचारी, कार्यालय प्रमुख र प्रशासनका प्रतिनिधि स्वयं घरमै पुगेर राहदानी हस्तान्तरण गरेका थिए।
घरमै सेवा पाउँदा उत्साहित मानन्धरले सरकारले यस्तो सुविधा अन्य क्षेत्रहरूमा पनि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार पहिलो दिनमै ५० वटा राहदानी हुलाकमार्फत पठाइएको छ र सोही दिन वितरण गर्ने लक्ष्य राखिएको छ।
यो पहल सरकारद्वारा घोषणा गरिएको ‘घरदैलोमै सेवा’ भन्ने शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको हो। सेवाले नागरिकको समय र खर्च दुवै बचाउने अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार प्रारम्भिक चरणमा सेवा हेटौडा उपमहानगरपालिका भित्र मात्र सञ्चालन गरिनेछ। हाल कार्यालयमा थन्किएका करिब ५०० राहदानीलाई पहिलो चरणमै वितरण गर्ने योजना बनाइएको छ।
दीर्घकालीन रूपमा भने नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्ता सेवाहरू समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनले राखेको छ। स्रोत–साधन र सुरक्षाका कारण तत्काल अन्य पालिकामा सेवा विस्तार गर्न नसकिए पनि उपमहानगरभित्र भने सहज रूपमा सञ्चालन भइरहेको बताइएको छ।
हुलाक कार्यालयका अनुसार नजिकका क्षेत्रमा सोही दिन र टाढाका वडामा बढीमा भोलिपल्टसम्म राहदानी पुर्याउने व्यवस्था मिलाइएको छ।














