हेटौंडा,बैशाख २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा आफ्नो निवास तथा सम्बन्धित कार्यालयमा गरिएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाले हेटौँडा र काठमाडौँस्थित आफ्ना घर तथा विगतमा संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति व्यक्त गरेका हुन्।
विज्ञप्तिमा उनले आफू लामो समयदेखि राजनीतिक यात्रामा सक्रिय रहँदै हाल बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको उल्लेख गरेका छन्। मुख्यमन्त्री बनेपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको उनले दाबी गरेका छन्। साथै प्रदेश सरकारको सार्वजनिक खर्चमा कटौती र आर्थिक मितव्ययीतालाई जोड दिँदै नीतिगत रूपमा पारदर्शिता कायम गर्ने प्रयास गरिएको पनि उनले स्पष्ट पारेका छन्।
तीन तहको सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा सधैं साथ रहने बताएका छन्। राज्यका जुनसुकै निकायले गर्ने सुशासनसम्बन्धी कदममा आफू सहयोग गर्न तयार रहेको पनि उनले जनाएका छन्।
यद्यपि, सञ्चारमाध्यममा आएको समाचारका आधारमा गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमा आघात पुगेको महसुस भएको उनको भनाइ छ। आवश्यक परेमा आफू स्वेच्छाले नै अनुसन्धानमा उपस्थित हुन तयार हुँदाहुँदै अकस्मात गरिएको छापामारीप्रति उनले असन्तुष्टि जनाएका छन्।
अन्त्यमा, उनले संवैधानिक र कानुनी दायराभित्र हुने कुनै पनि अनुसन्धानमा पूर्ण सहयोग रहने पुनः स्पष्ट पार्दै प्रदेशवासी तथा शुभेच्छुकहरूलाई भ्रममा नपर्न र चिन्तित नहुन आग्रह गरेका छन्। साथै जनताको सेवामा सदैव प्रतिबद्ध रहने उनको भनाइ छ।















