काठमाडौं,बैशाख २१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समाचार संकलनका क्रममा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकको समाचार संकलनका लागि बाहिरबाट भिडियो खिचिरहेका पत्रकारलाई सुरक्षाकर्मीमार्फत रोक लगाइएको थियो। पत्रकारहरूका अनुसार उक्त रोक प्रधानमन्त्रीको ठाडो आदेशमा गरिएको बताइएको छ।
महासङ्घले सरकार प्रमुखबाटै प्रेस स्वतन्त्रताको संरक्षण हुनुपर्नेमा उल्टै पेशागत धर्म निर्वाह गरिरहेका सञ्चारकर्मीमाथि गरिएको यस्तो व्यवहार असोभनीय भएको भन्दै आपत्ति प्रकट गरेको छ। विज्ञप्तिमा पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुग्ने खालका यस्ता कार्यप्रति गम्भीर असहमति जनाइएको छ।
साथै, महासङ्घले सबै सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न अपिलसमेत गरेको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।















