हेटौंडा,बैशाख २३ गते । स्थानीय बासिन्दाले शिवम् सिमेन्ट उद्योगको मापदण्डविपरीत सञ्चालनप्रति गम्भीर आपत्ति जनाउँदै जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको आरोप लगाएका छन्। सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जालमार्फत उद्योगविरुद्ध कडा टिप्पणी गर्दै तत्काल सुधारको माग गरेका हुन्।
महतले उद्योगले दीर्घकालदेखि वातावरणीय मापदण्ड उल्लङ्घन गर्दै आएको र यसले स्थानीय जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन्। पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी कदम चालिएको नदेखिएको उनको गुनासो छ। केही समयका लागि सुधारको नाटक देखाएर पुनः पुरानै अवस्थामै फर्किने प्रवृत्तिले जनतामाथि धोका भएको उनले बताएका छन्।
यसैबीच, समस्या समाधानका लागि शिवम् सिमेन्ट उद्योगका प्रतिनिधि, वडा अध्यक्ष, मेयर, प्रदेश तथा उपमहानगरपालिकाका वातावरण इन्जिनियर, प्रदेश वातावरण इन्जिनियर, सम्बन्धित जनप्रतिनिधि, स्थानीय क्लब तथा नागरिक समाजको उपस्थितिमा सार्वजनिक सुनुवाइ आयोजना गरिने घोषणा गरिएको छ।
महतले चेतावनी दिँदै भनेका छन्—यदि सम्बन्धित निकायहरू उक्त कार्यक्रममा उपस्थित नभए उनीहरू जनताको नभई उद्योगको पक्षमा रहेको ठहर गरिनेछ। साथै त्यसपछि उत्पन्न हुने आन्दोलन र परिस्थितिको सम्पूर्ण जिम्मेवारी उनीहरूले नै लिनुपर्ने स्पष्ट पारिएको छ।
स्थानीय बासिन्दाले अब जनस्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि पक्षलाई छुट नदिने अडान लिएका छन्।














