४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, जल तथा मौसम विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार ३० गते । जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहने पूर्वानुमान सार्वजनिक गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट र सर्लाहीलगायत जिल्लामा पर्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने जनाएको छ।

त्यस्तै, गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा पनि साना नदी तथा खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको र मध्यम जोखिम कायम रहने विभागको पूर्वानुमान छ।

यसैगरी, चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत आसपासका क्षेत्रमा समेत आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

विभागले लगातारको वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह छोटो समयमा नै बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी तर्न नजान, जोखिमयुक्त क्षेत्रमा बसोबास वा आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्न सबैमा आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.