हेटौंडा,जेठ १४ गते। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेमा डेरा गरी बस्दै आएका २३ वर्षीय चुडामणि खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।
प्रहरीका अनुसार, राति वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानो पोखरा चोक क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई फेला पारी शरीर तथा झोलाको खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा सुन जस्तो देखिने पातलो धातुको चुरा दुई थान, औँठी एक थान, कानमा लगाउने झुम्का दुई थान, ताल्चा काट्न प्रयोग हुने जस्तो देखिने बोल्ड कटर एक थान, चार थान घडी, सुन राख्ने डब्बा एक थान तथा नगद रु ४ हजार १ सय १५ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।














