अहमदाबाद,जेठ १८ गते। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को रोमाञ्चक फाइनल खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ। गुजरातले दिएको १५६ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको हो।
बेङ्गलुरुको जितमा टोलीका पूर्व कप्तान विराट कोहली नायक बने। उनले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित ७५ रनको उत्कृष्ट पारी खेले। उनको शानदार प्रदर्शनकै आधारमा उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
बेङ्गलुरुका अर्का सुरुआती ब्याट्सम्यान वेंकटेश ऐयरले १६ बलमा ४ चौका र २ छक्काको मद्दतले ३२ रन बनाए। त्यस्तै टिम डेभिडले १७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडे। गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा तथा अर्शद खानले समान १–१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए। निशान्त सिन्धुले २० रन, जोस बटलरले १९ रन, साई सुदर्शनले १२ रन तथा शुभमन गिलले १० रनको योगदान दिए। अन्य ब्याट्सम्यान भने ठूलो स्कोर बनाउन असफल रहे।
उपाधिसँगै रोयल च्यालेन्जर्स बेङ्गलुरुले ट्रफीसहित २० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता गुजरात टाइटन्सले १२ करोड ५० लाख रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ।
व्यक्तिगत पुरस्कारतर्फ गुजरातका तीव्र गतिका बलर कगिसो रबाडाले प्रतियोगिताभर २९ विकेट लिँदै सर्वाधिक विकेटकर्तालाई प्रदान गरिने पर्पल क्याप जिते। त्यसैगरी राजस्थानका १५ वर्षीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले प्रतियोगिताभर ७७६ रन बनाएर सर्वाधिक रनकर्तालाई प्रदान गरिने ओरेन्ज क्याप जिते।
वैभव सूर्यवंशी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले सर्वाधिक मूल्यवान खेलाडी, उत्कृष्ट उदयीमान खेलाडी तथा उत्कृष्ट स्ट्राइक रेट भएका खेलाडीसहित पाँच विधाका पुरस्कार आफ्नो नाममा पार्दै प्रतियोगितामा पूर्ण प्रभुत्व जमाए। विभिन्न पुरस्कारमार्फत उनले ४० लाख रुपैयाँ नगद तथा एक कारसमेत प्राप्त गरेका छन्।














