बालमैत्री शहर घोषणाको प्रभाव : हेटौंडाका किशोर रेडियो कार्यक्रम सञ्चालक बन्दै

हेटौंडा, असार १७ गते । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री शहर घोषणा गर्दा आलोचना र खिसीट्युरीसमेत सहनुपरेको भए पनि त्यसको सकारात्मक प्रभाव अहिले देखिन थालेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताएकी छन्।

मेयर लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नगरले बालबालिकाको क्षमता विकासका लागि शिक्षा, तालिम तथा विभिन्न अवसरहरू सिर्जना गर्दै आएको उल्लेख गरेकी छन्। उनले बालमैत्री शहर घोषणापछि नगर बालबालिकाका सवालमा अझ सचेत र गम्भीर बनेको बताइन्।

नगरपालिकाले पत्रकारिता, रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको र त्यही तालिमबाट लाभ लिएका विकल्प अर्याल अहिले रेडियो कार्यक्रम सञ्चालक बनेको मेयर लामाले जानकारी दिइन्।

उनका अनुसार अर्यालले हाल रेडियो थाहा सञ्चार मा “बाल सरोकार” नामक रेडियो कार्यक्रम सञ्चालन गरिरहेका छन्। सोही कार्यक्रमका लागि अर्यालले मेयर लामासँग कुराकानी गरेका थिए।

मेयर लामाले बालमैत्री शहर घोषणाले विकल्प अर्यालजस्ता दक्ष किशोर तथा युवालाई अगाडि बढ्न प्रेरणा दिएको उल्लेख गर्दै सबैलाई शुभकामना व्यक्त गरेकी छन्।

उनले सरकारका निकायले गर्ने कामको प्रभाव ढिलो वा चाँडो देखिने भन्दै बालबालिकासँग सम्बन्धित कार्यक्रमहरूको प्रभाव अझ महत्वपूर्ण हुने बताएकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.