हेटौँडा, असार २२ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा आधुनिक आईटी पार्क (पब्लिक नलेज सेन्टर) निर्माण हुने भएको छ । बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले परियोजनाको डिपिआर तथा निर्माण कार्यका लागि बजेट विनियोजन गरेसँगै हेटौँडालाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने आधार तयार भएको हो ।
वडा कार्यालयको पहल तथा समन्वयमा अघि बढाइएको यस योजनाका लागि बाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय दिनेशचन्द्र देवकोटाले आवश्यक निर्णय गरेका हुन् । स्थानीयवासी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले यस कदमलाई हेटौँडाको भविष्यसँग जोडिएको महत्वपूर्ण योजनाका रूपमा लिएका छन् ।
निर्माण हुन लागेको आईटी पार्कले सूचना तथा प्रविधिका नयाँ आयाम भित्र्याउने, अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा युवाहरूका लागि रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । साथै विद्यालय शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सार्वजनिक रूपमा सूचना प्रविधिमा सहज पहुँच विस्तार गर्नुका साथै खोज, अनुसन्धान, प्रयोग तथा नवप्रवर्तनलाई समेत प्राथमिकता दिइने जनाइएको छ ।
यसैबीच, भुटनदेवी माध्यमिक विद्यालयलाई मेघा विद्यालयका रूपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार निर्माण कार्य पनि अघि बढाइएको छ । हेटौँडा उपमहानगरपालिका र विद्यालयको लागत साझेदारीमा करिब ३ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माणका लागि टेण्डर प्रक्रिया समेत सम्पन्न भइसकेको छ ।
स्थानीय तह, प्रदेश सरकार र विद्यालयबीचको सहकार्यले हेटौँडाको शैक्षिक तथा प्रविधि विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ ।














