हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

हेटौँडा, साउन १ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले आर्थिक वर्ष २०८३/०८४ का लागि वडाभित्र सञ्चालन हुने प्रमुख योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नयाँ आर्थिक वर्षको अवसरमा उनले अघिल्लो आर्थिक वर्षलाई विदाइ गर्दै वडाको दोस्रो कार्यकालको अन्तिम वर्षमा प्रवेश गरेको उल्लेख गर्दै आगामी वर्षलाई विकास निर्माणको दृष्टिले उपलब्धिमूलक बनाइने बताएका हुन्।

वडाध्यक्ष सिग्देलका अनुसार गत आर्थिक वर्षमा सम्पन्न भएका प्रतिनिधिमूलक भौतिक पूर्वाधारका कामलाई भिडियोमार्फत सार्वजनिक गरिएको छ भने सडक स्तरीकरण, ढल, फुटपाथ, सडक बत्ती, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा–संस्कृति, महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक समावेशिता तथा मानवीय विभेद र हिंसाविरुद्धका सयौँ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ।

उनले आर्थिक वर्ष २०८३/०८४ मा संघीय सरकार, बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका र वडा कार्यालयको बजेटबाट सञ्चालन हुने २३ वटा मुख्य कार्यक्रम सार्वजनिक गरेका छन्।

उनका अनुसार अधुरो रहेको रजतजयन्ती सडक, वडा प्रहरी कार्यालय तथा हुप्र पूर्वी सडक निर्माण सम्पन्न गरिनेछ। सूर्यचोकदेखि कर्रासम्म सडक स्तरीकरण, प्रजातान्त्रिकपथ, सृजनापथ, अजरअम्मर रोड, नयाँ मार्ग, बुद्धपथलगायतका भित्री सडकमा स्तरीकरण, ढल तथा फुटपाथ निर्माण गरिनेछ।

यस्तै, पशुपति मन्दिर जाने सडक, किरियापुत्री भवन तथा श्रमिक खेल मैदान जाने सडकको स्तरीकरण, वडाभित्रका सबै कच्ची सडक सुधार गरी धुलो, हिलो र डुबानमुक्त बनाइने योजना रहेको छ। स्कुल रोडमा फल्चा निर्माण सम्पन्न गरिने तथा गर्दाेही क्षेत्रमा सार्वजनिक हल निर्माण सुरु गरिने जनाइएको छ।

लोकतान्त्रिक चौर (हुप्र) क्षेत्रमा गुणस्तरीय खानेपानी, खुला जिम विस्तार, हरियाली प्रवर्द्धन, विश्रामस्थल निर्माण, मर्मत, रंगरोगन तथा नियमित सरसफाइ गरिनेछ। श्रमिक माध्यमिक विद्यालयको २४ कोठे तीनतले भवन र भुटनदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे भवन निर्माण सम्पन्न गरिनेछ भने भुटनदेवी माविमा आईटी पार्क निर्माणको काम सुरु गरिने वडाध्यक्ष सिग्देलले जानकारी दिएका छन्।

नगर विकास क्षेत्रअन्तर्गत हुप्र वरपरका बाँकी सडकलाई प्रदेशकै नमुना सडकका रूपमा विकास गर्न डीपीआर तयार भइसकेको र चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण सुरु गरिने जनाइएको छ। आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि र हेटौँडा क्याम्पसमा थप शैक्षिक पूर्वाधार निर्माण गरिनेछ।

यसैगरी भुवनेश्वर मन्दिर–पारिजातपथ तथा भैरव रोड–चिसापानी सडकमा फुटपाथ निर्माण, चिल्ड्रेन पार्क, श्रमिक पार्क तथा विभिन्न मठमन्दिरको स्तरीकरण, सडक मर्मत, रबर स्पीडब्रेकर, सार्वजनिक स्थानमा सिमेन्टका कुर्सी तथा टोल विकास संस्थाका परिचय बोर्ड स्थापना गरिने योजना रहेको छ।

स्वास्थ्यतर्फ मोहन बज्राचार्य आधारभूत सहरी स्वास्थ्य केन्द्रलाई थप सुदृढ बनाइनेछ भने युवालाई आधुनिक कौशी तरकारी खेती र डिजिटल तालिम प्रदान गरिनेछ। आदिवासी जनजाति सांस्कृतिक महोत्सव, नगरस्तरीय क्रिकेट, फुटबल, मार्सल आर्ट तथा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिने कार्यक्रम पनि समावेश गरिएको छ।

शिक्षा क्षेत्रमा २० जना विपन्न विद्यार्थीलाई कक्षा ११ मा निःशुल्क अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने र श्रमिक माध्यमिक विद्यालयको विपन्न छात्रवृत्ति कोषमा वडा कार्यालयबाट १० लाख रुपैयाँ पुर्‍याइने वडाध्यक्ष सिग्देलले बताएका छन्।

भाषा, कला तथा संस्कृति प्रवर्द्धनका कार्यक्रमसँगै शैक्षिक गुणस्तर सुधार समिति, टोल विकास संस्था, महिला जागरण समूह, वडा बाल सञ्जाल, ज्येष्ठ नागरिक वडा मञ्च, एकल महिला समूह तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी विविध सामाजिक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

वडाध्यक्ष सिग्देलले दोस्रो कार्यकालको अन्तिम वर्षलाई विकास, सुशासन र नागरिक सेवाको दृष्टिले परिणाममुखी बनाउने लक्ष्यसहित सबै योजना समयमै सम्पन्न गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.