हेटौँडा, साउन २१ गते । हेटौंडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा’ भन्ने नारासहित ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान घोषणा गरेको विषयमा सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवाजका अध्यक्ष विशालराज महतले नगरको वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले पर्यटन प्रवर्द्धनका लागि घोषणा गरिएको अभियान स्वागतयोग्य भए पनि नाराभन्दा पहिले यथार्थ सुधार गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार हेटौंडा उपमहानगरपालिकाले करिब ३२ लाख ५० हजार रुपैयाँ खर्च गरेर शहरलाई सफा बनाउने योजना ल्याएको भए पनि अहिले पनि सडकमा फोहोर बोक्ने सवारीबाट लेदो चुहिने, दुर्गन्ध फैलिने तथा डम्पिङ साइटका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्नुपरेको अवस्था यथावत् रहेको छ।
उनले नगरवासीले पटक–पटक यी समस्याबारे आवाज उठाउँदा पनि प्रभावकारी सुनुवाइ नभएको उल्लेख गर्दै अहिले ‘जिरो वेस्ट’ को नारा घोषणा गरिनु जनताका लागि व्यङ्ग्यको विषय बन्न सक्ने टिप्पणी गरेका छन्।
महतले पर्यटकलाई आकर्षित गर्नुअघि शहरको आधारभूत व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार लेदो चुहाउँदै हिँड्ने फोहोरका सवारी, दुर्गन्धयुक्त वातावरण, व्यवस्थित बसपार्कको अभाव, पर्याप्त सार्वजनिक शौचालय नहुनु, अस्तव्यस्त पार्किङ, रंगीन होर्डिङ र पोल–पोलमा झुन्डिएका तार तथा लागूऔषधको समस्याले पर्यटन प्रवर्द्धनमा नकारात्मक प्रभाव पार्न सक्छ।
उनले हेटौंडामा पर्यटन विकासको पर्याप्त सम्भावना रहेको पनि उल्लेख गरेका छन्। बजार क्षेत्रदेखि नकौलीसम्मको फरक मौसम, धार्मिक तथा प्राकृतिक गन्तव्य, राप्ती नदीको तट, स्थानीय उत्पादन, जडीबुटी तथा स्थानीय मदिराको ब्रान्डिङ, मोबाइल शौचालय, स्नानघर र आवश्यकता अनुसार मोबाइल होटलजस्ता अवधारणालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सके पर्यटनसँगै रोजगारी र स्थानीय आम्दानी बढाउन सकिने उनको धारणा छ।
त्यस्तै, खुला दिसामुक्त घोषणा गरिएको नगरमै अझै ६८५ घरधुरी शौचालयविहीन रहेको जनगणनाको तथ्याङ्क, बजार व्यवस्थापनको अभाव, व्यवसायीका समस्या, सुरक्षा चुनौती तथा दीर्घकालीन आन्तरिक आम्दानी वृद्धि गर्ने स्पष्ट योजनाको कमीप्रति पनि उनले प्रश्न उठाएका छन्।
महतले साँच्चिकै पर्यटन वर्ष सफल बनाउन चाहने हो भने सबैभन्दा पहिले फोहोर व्यवस्थापनमा सुधार, डम्पिङ साइटको दीर्घकालीन समाधान, फोहोर बोक्ने सवारीको व्यवस्थापन, सार्वजनिक शौचालय, बसपार्क, पार्किङ तथा अन्य आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनले अन्त्यमा भनेका छन्, “नारा सुन्दर भएर शहर सुन्दर हुँदैन, शहर सुन्दर भएपछि मात्र नारा विश्वसनीय बन्छ।”














