हेटौंडा, साउन २२ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले परिवारदेखि समाज, संगठन र देशसम्मको विकासका लागि आन्तरिक एकता र सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता आन्तरिक कमजोरी हटाउँदै एकताबद्ध भएर अघि बढ्नु रहेको उल्लेख गरेका छन्।
उनले कुनै पनि वस्तु, संस्था वा समाजको विकास र विनाश उसकै आन्तरिक अवस्थाले निर्धारण गर्ने भन्दै बाहिरी चुनौतीभन्दा पहिले आन्तरिक अन्योल र किचलो अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
सिग्देलले आन्तरिक विभाजन र कमजोरी कायम रहँदासम्म बाह्य चुनौतीलाई चिर्दै सही दिशा दिन नसकिने उल्लेख गरेका छन्। उनका अनुसार आन्तरिक रूपमा बलियो, संगठित र एकताबद्ध बनेपछि मात्रै बाहिरी चुनौतीको सामना गर्न र अवसरलाई आफ्नो पक्षमा रूपान्तरण गर्न सकिन्छ।
उनले वर्तमान समयको कार्यभार परिवार, संगठन, समाज र देशलाई आन्तरिक रूपमा सुदृढ बनाउनु रहेको उल्लेख गर्दै सबैलाई सहकार्य, एकता र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन्।
स्टाटसको अन्त्यमा उनले, “जब हामी जुट्न सक्छौँ, तब मात्र उठ्न सक्छौँ।” भन्ने सन्देशमार्फत सामूहिक एकता र सहकार्य नै समृद्धिको आधार भएको धारणा व्यक्त गरेका छन्।














