मुख्यमन्त्री बानियाँ : लोकतन्त्र र संघीयता सबै जातजातिको पहिचान संरक्षण गर्ने माध्यम

हेटौंडा, साउन ३० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र, संघीयता र समावेशी व्यवस्था सबै जातजाति तथा भाषाभाषीको पहिचान, अस्तित्व र अधिकार संरक्षण गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन्।

३२औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिले शनिबार हेटौंडामा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले भाषा, लिपि, संस्कृति, परम्परा र संस्कारको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु राज्यको दायित्व भएको बताए।

‘लोकतन्त्र, संघीयता र समावेशी व्यवस्था भनेको सबै जातजाति र भाषाभाषीको एउटा पहिचान हो,’ उनले भने, ‘आफ्नो जातको लिपि, संस्कृति, परम्परा र संस्कारलाई जगेर्ना, संरक्षण र आउने पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ।’

मुख्यमन्त्री बानियाँले गणतन्त्र र संघीयताको मूल मर्म नै सबै जातजातिको प्रतिनिधित्व, अस्तित्व र समावेशी सहभागिता रहेको बताए। बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा अघि बढाएको उल्लेख गर्दै उनले प्रदेशसभामा तामाङ भाषाको अनुवादको व्यवस्था हुनु भाषिक समावेशिताको महत्वपूर्ण अभ्यास भएको बताए।

उनले नेपाली पत्रकारिताको इतिहाससँग तामाङ भाषाको लेखन पनि जोडिएको उल्लेख गरे। प्रजातन्त्र स्थापनापछि भाषिक विविधताको सम्मान गर्ने अभ्यास अघि बढेको बताउँदै उनले विसं २०१५/१६ तिर तामाङ भाषाको हस्तलिखित लिपि पत्रकारितामार्फत भेटिएको प्रसंगसमेत सुनाए।

‘प्रजातन्त्र, गणतन्त्र, संघीयता र समावेशी व्यवस्थाले सबै जातको संरक्षण, भाषाको संरक्षण र पहिचानको मुद्दालाई अगाडि बढाउँछ,’ मुख्यमन्त्री बानियाँले भने।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले पत्रकारितामार्फत तामाङ समुदायको विकास र पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने दुई पत्रकारलाई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे।

‘क्षेमबहादुर–राजकुमार बानियाँ स्मृति पत्रकारिता पुरस्कार–२०८३’ नयाँ पत्रिका दैनिकमा कार्यरत धादिङकी पत्रकार शान्ति तामाङलाई प्रदान गरिएको छ। पुरस्कारको राशि १५ हजार १ सय रुपैयाँ रहेको छ। यो पुरस्कार मुख्यमन्त्री बानियाँका पिता स्वर्गीय क्षेमबहादुर बानियाँ र दाजु स्वर्गीय राजकुमार बानियाँको स्मृतिमा स्थापना गरिएको हो।

त्यस्तै, ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार–२०८३’ नमस्ते मनहरी डटकममा कार्यरत तथा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानलाई प्रदान गरिएको छ। पुरस्कारको राशि १० हजार १ सय रुपैयाँ रहेको छ। उक्त पुरस्कार तामाङ पत्रकार संघका संघीय सदस्य राजेश रुम्बा लामाका स्वर्गीय बुबा आइते सिं रुम्बा र आमा स्वर्गीय बुद्धिमाया रुम्बाको स्मृतिमा स्थापना गरिएको हो।

पुरस्कृत दुवै पत्रकारलाई मुख्यमन्त्री बानियाँले पुरस्कार तथा सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको विशिष्ट आतिथ्यता रहेको थियो। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर, महासंघका पूर्वअध्यक्ष प्रताप विष्ट, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन बिडारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम तामाङ पत्रकार संघ बागमती प्रदेश समितिका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.