हेटौंडा, भदौ १४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गमा यात्रुबाहक EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज. ०६९७ नम्बरको यात्रुबाहक EV र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको यात्रुबाहक सुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा EV चालकसहित EV मा सवार ५ जना गरी ११ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल, मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये सुमो चालक पर्सा बिन्दवासिनी गाउँपालिका–३ का करिब ३४ वर्षीय रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। सुमोमा सवार वीरगञ्ज महानगरपालिका–३१ की करिब ३१ वर्षीया राधिका देवीको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही स्थानकी २६ वर्षीया रेखा ओझाको अनुहारमा, ४० वर्षीया उपम देवीको टाउकोमा, वीरगञ्ज महानगरपालिका–१५ का ३२ वर्षीय शौरव कुमार गुप्ताको टाउकोमा तथा उनका ३० महिनाका छोरा सौर्य साहको दुवै हातमा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।
EV चालक गोरखा आरुघाट गाउँपालिका–७ का करिब ३० वर्षीय सोमबहादुर गुरुङको छातीमा चोट लागेको छ। त्यस्तै, EV मा सवार रौतहट बृन्दावन नगरपालिका–९ की ८ वर्षीया खजिना खातुनको नाक र दायाँ खुट्टामा, सर्लाही बरहथवा नगरपालिका–८ का ३१ वर्षीय हरिन्द्र रायको अनुहार र बायाँ हातमा तथा सर्लाही गौडैटा नगरपालिका–६ का ३१ वर्षीय राकेश महन्तको दायाँ हात, छाती र टाउकोमा चोट लागेको छ।
त्यसैगरी, सर्लाहीकै गौडैटा नगरपालिका–२ का २२ वर्षीय शत्रुधन कुशहवाको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनापछि दुवै सवारीसाधन प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेका छन्। दुर्घटनाका कारण राजमार्गमा यातायात अवरोध भने नरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट ट्राफिक प्रहरीसहितको टोली खटिएर आवश्यक अनुसन्धान तथा व्यवस्थापन गरिरहेको छ। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।














