मनहरीमा सीमान्तकृत समुदायका विद्यार्थीलाई हेमराइट्स मकवानपुरद्वारा खाद्यान्न वितरण

मनहरी, असोज २३ गते । सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा र नेतृत्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीस्थित श्री प्रजा माध्यमिक विद्यालयमा विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको छ।

शुक्रबार हेमराइट्स मकवानपुरको आयोजना, कोर इन्टरनेसनल क्यानडाको आर्थिक सहयोग, मनहरी गाउँपालिकासँगको समन्वय तथा श्री प्रजा माध्यमिक विद्यालयको व्यवस्थापनमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनुवारको सभापतित्व तथा हिराबहादुर प्रजाको प्रमुख आतिथ्यता रहेको थियो। हेमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा इन्दुकुमारी तामाङ, सञ्जीव गुरुङ, लक्ष्मी वाइबालगायत अतिथि, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक वाइबाले राखेकी थिइन्।

कार्यक्रममा बोल्दै संयोजक वाइबाले हेमराइट्स मकवानपुरले विगत २५ वर्षदेखि मकवानपुरलगायत विभिन्न जिल्लामा मानव अधिकार, महिला अधिकार, बालअधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आएको बताइन्। सन् २०१७ अर्थात् २०७४ सालदेखि यी अभियानसँगै शिक्षा क्षेत्रलाई पनि जोडेर कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो।

कोर इन्टरनेसनल क्यानडाको आर्थिक सहयोगमा सञ्चालित ‘सीमान्तकृत समुदायका शिक्षा तथा नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकाका चारवटा विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको वाइबाले जानकारी दिइन्। उनका अनुसार हालसम्म यस कार्यक्रमबाट १०२ जना विद्यार्थीलाई समेटिएको छ। विद्यालयबाहिर रहेका तथा बालविवाह, बालश्रम र मानव बेचबिखनको जोखिममा पर्न सक्ने समुदायका बालबालिकालाई लक्षित गरी शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

खाद्यान्न वितरण कार्यक्रम विद्यार्थीले खाजाबापत पाउने रकमलाई एकमुष्ट व्यवस्थापन गरी सञ्चालन गरिएको वाइबाले बताइन्। थोरै रकम पटकपटक उपलब्ध गराउनुभन्दा सम्बन्धित विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहको सल्लाहअनुसार केही महिनाको रकम बराबरको खाद्यान्न एकैपटक उपलब्ध गराउने निर्णय गरिएको उनले स्पष्ट पारिन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीका लागि चामल, चिउरा, दाल, तेल, मसला, नुन तथा भाँडा धुने साबुनलगायत सामग्री वितरण गरिएको छ। करिब छ महिनाको खाजाबापतको रकमलाई एकमुष्ट व्यवस्थापन गरी खाद्यान्न प्याकेज उपलब्ध गराइएको वाइबाले जानकारी दिइन्।

यस्तो सहयोगले बालबालिकालाई विद्यालयमा नियमित रहन प्रोत्साहन गर्नुका साथै परिवारको खाद्यान्न व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले बालबालिका बालविवाह तथा बालश्रममा संलग्न हुनुपर्ने जोखिम न्यूनीकरणमा पनि सहयोग पुग्ने कार्यक्रम संयोजक वाइबाको भनाइ छ।

हेमराइट्स मकवानपुरले शिक्षा सहयोगसँगै लक्षित परिवारको आयआर्जन बढाउने उद्देश्यले कुखुरा तथा बाख्रा वितरणका कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ। पशुपालनलाई दिगो बनाउन पशु जीवन बीमाको विषयलाई पनि प्राथमिकतामा राखिएको र यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको वाइबाले बताइन्।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि, विद्यालय, अभिभावक र समुदायको निरन्तर साथ आवश्यक रहेको उनले उल्लेख गरिन्। विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा कोर इन्टरनेसनल क्यानडाले कक्षा १२ सम्म अध्ययनका लागि सहयोग गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिइन्।

सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयसम्म पहुँच पुर्‍याउने, उनीहरूको शिक्षा निरन्तरता सुनिश्चित गर्ने र नेतृत्व विकासमा सहयोग गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको हेमराइट्स मकवानपुरले जनाएको छ। यस क्रममा अभिभावकसँग नियमित छलफल, महिला हिंसाविरुद्धका गतिविधि, बालशोषणविरुद्धका कार्यक्रम तथा विद्यालयमा अतिरिक्त क्रियाकलापसमेत सञ्चालन हुँदै आएका छन्।

मनहरी गाउँपालिका–३ बाट सुरु गरिएको खाद्यान्न वितरण कार्यक्रमलाई राक्सिराङ गाउँपालिका तथा मनहरी गाउँपालिकाका अन्य लक्षित विद्यालयसम्म विस्तार गर्ने तयारी रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रधानाध्यापक तुलबहादुर सुनुवार र प्रमुख अतिथि हिराबहादुर प्रजाले पनि मन्तव्य राखेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.