मनहरी, असोज २७ गते । मकवानपुरको मनहरी गाउँपालिका–२, दोभानमा तेस्रो वडाध्यक्ष भिमान स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मनहरी गाउँपालिका–२ वडा कार्यालय र मनहरी गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा आगामी कार्तिक १४ गतेदेखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिता मनहरी गाउँपालिका–२, दोभानस्थित त्रिरत्न प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। १० वर्षे महान् जनयुद्धका क्रममा भिमानमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना, सम्मान र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
वि.सं. २०८१ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगितालाई यस वर्ष थप विस्तार गरिने आयोजकले जनाएको छ। यसअघि मनहरी गाउँपालिकाभित्र केन्द्रित प्रतियोगितामा यस वर्ष देशका विभिन्न स्थानमा रहेका आधिकारिक रूपमा दर्ता भएका उत्कृष्ट फुटबल क्लबहरूलाई समेत सहभागी गराइने भएको छ।
प्रतियोगितामार्फत सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्नुका साथै युवा पुस्तामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, अनुशासन र आपसी सद्भाव विकास गर्ने तथा एकता र भाइचाराको भावना प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। साथै, स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान र सामाजिक एकता कायम गर्न प्रतियोगिताले योगदान पुर्याउने आयोजकको विश्वास छ।
तामाङ समुदायको उल्लेख्य बसोबास रहेको मनहरी गाउँपालिका–२ को खेलकुद, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा समेत प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ तथा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले २०८३ साल कार्तिक १० गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि संयोजक चन्द्र सिंह स्याङ्तान, आर्थिक संयोजक इन्द्रदेव वाइबा तथा मिडिया संयोजक सूर्यबहादुर गोलेसँग सम्पर्क गर्न सकिनेछ।
खेलकुद विकास समिति मनहरी–२ का संयोजक चन्द्र सिंह स्याङ्तानद्वारा जारी प्रेस विज्ञप्तिमा प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी तथा सम्बन्धित सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।


















