हेटौँडा, कार्तिक १७ गते । नेपाल विद्युत् प्राधिकरणले हेटौंडास्थित १३२ केभी कमाने सबस्टेसनमा सबस्टेसन अटोमेसन प्रणाली (SAS) जडान तथा परीक्षणसम्बन्धी कार्य गर्न तीन दिन विद्युत् सेवा अवरुद्ध गर्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित ग्रिड सबस्टेसन अटोमेसन आयोजना फेज–२ ले उपत्यका बाहिरका ग्रिड सबस्टेसनहरूलाई आधुनिक अटोमेसन प्रणालीमा आबद्ध गर्ने कार्यक्रमअन्तर्गत कमाने सबस्टेसनमा काम गरिरहेको छ।
सोही कार्यलाई निरन्तरता दिँदै आयोजनाले १३२ केभी कमाने सबस्टेसनबाट सञ्चालित विभिन्न ११ केभी फिडरमा सटडाउन आवश्यक परेको जनाएको छ।
आयोजनाले उपलब्ध गराएको विवरणअनुसार २०८३ साल कार्तिक १८ गते बिहान ६ बजेदेखि १० बजेसम्म ११ केभी एचआईडी–१ फिडर, कार्तिक १९ गते सोही समयावधिमा ११ केभी फिडर तथा कार्तिक २० गते बिहान ६ बजेदेखि १० बजेसम्म ११ केभी रङ्गशाला फिडर मा सटडाउन माग गरिएको छ।
यसअनुसार सम्बन्धित फिडरअन्तर्गतका क्षेत्रमा तीन दिनसम्म बिहान ६ बजेदेखि १० बजेसम्म विद्युत् सेवा प्रभावित हुन सक्नेछ। सटडाउनको समयमा सम्बन्धित फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रका उपभोक्ताले वैकल्पिक व्यवस्था मिलाउनुपर्ने देखिन्छ।
विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र आधुनिक बनाउने उद्देश्यले सञ्चालन भइरहेको सबस्टेसन अटोमेसन कार्य सम्पन्न भएपछि विद्युत् प्रणालीको सञ्चालन तथा व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।


















