हेटौँडा, कार्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा सम्मानित जिल्ला अदालतबाट दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका हेटौँडा उपमहानगरपालिका–५ निवासी २८ वर्षीय अब्दुल अन्सारी रहेका छन्।
त्यस्तै, वैदेशिक कसुर मुद्दामा फरार रहेका हेटौँडा उपमहानगरपालिका–४ निवासी आदित्य शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूको खोजतलास तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।


















