हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ धरमपानीमा काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरको इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको र मगरको शव दुर्घटनास्थलमा फेला परेको जनाइएको छ। अन्य घाइतेको सहकारी अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाइएको छ।














