हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सबैतिर आलोचना भएको छ । साथै उनलाई एमाले पार्टीको ट्याग समेत लागेको छ ।
वि. सं. २०७६ असोज २ गते हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने भनी बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलको पालामा निर्णय भएको थियो । ६६ वर्षको लामो इतिहासलाई नामेट गर्दै प्रतिष्ठान ऐन २०७६ को परिच्छेद ६ दफा १५(२) बमोजिम नयाँ स्थापना भएको मानिने गरी हेटौंडा अस्पताललाई प्रतिष्ठान अस्पताल बनाउने नीति प्रदेश संसदबाट पास गरेको थियो । त्यस्तै प्रतिष्ठान ऐन २०७६ को परिच्छेद २ को (३) मा प्रतिष्ठानले आफ्नो चल अचल सम्पत्ति व्यक्ति सरह किनबेच गर्न सकिने भनिएको छ ।
प्रतिष्ठान दर्ता प्रक्रिया पूरा गर्न ५० वटा बेड सहितको संरचना आवश्यक भएकोले निश्चित समयका लागि हेटौंडा अस्पताललाई प्रयोग गरिएको थियो । हात दिँदा डुँडुलो निल्यो भनेझैं क्षणिकको लागि प्रयोग गरिएको हेटौंडा अस्पताललाई कानुन बनाइ भित्रभित्रै सिध्याउन खोजिएको रहेछ । यो कुरा बाहिरिएपछी विगत लामो समय अघिदेखी नै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनुपर्छ भन्दै नागरिक स्तरबाट विभिन्न आवाज उठिरहेको थियो । यसका लागि विभिन्न पार्टी, संघसंस्था र संगठनको समर्थनमा नागरिक स्तरबाट हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समिती निर्माण गरि परिचालन गरिरहेको छ । समितिको पहलमा बागमती प्रदेश संसद भवन घेराउ, विरोध प्रदर्शन सँगै मुख्यमन्त्री कार्यलय सहित सम्बन्धित निकायमा ज्ञापनपत्र पेस, हस्ताक्षर संकलन गरि सिडिओ कार्यलय मार्फत प्रधानमन्त्री कार्यलय समक्ष पेस गरिएको थियो ।
अदालतमा विचाराधीन मुद्दाको रुपमा रहेको भन्दै आलटाल गर्ने प्रवृत्ति बढ्दै गएपछी अभियान्ताले २०८१ चैत्र ३१ गते हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिको नेतृत्वमा हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड छोपी हेटौंडा अस्पतालको बोर्ड राखिएको थियो । सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रदेश नीति खारेजिको माग गर्दै आन्दोलित अभियन्ताहरुमध्ये विशालराज महत, सुनिल गिरी, सफल अधिकारी, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरे लगायतका टिमलाई पक्राउ गरि थुनामा राखेपछी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आलोचना सुरु भएको हो ।
हेटौंडा अस्पताल प्रकरणमा सहभागी अभियन्ताहरुलाई कुनै पनि हालतमा पक्राउ गरि आवश्यक कारबाही अगाडी बढाउँन श्रेष्ठले प्रहरीलाई निर्देशन दिएको खबर सामाजिक संजाल मार्फत फैलिए पछी श्रेष्ठको आलोचना सुरु भएको हो । जति बेला श्रेष्ठले उक्त निर्देशन दिएको खबर सामाजिक संजालमा फैलियो त्यहि समयमा उनि बकैया गाउँपालिकामा भुमि पुर्जा वितरण कार्यक्रममा पुगेकी थिइन् । उक्त कार्यक्रममा नेकपा एमालेका नेता एवं हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने भनी निर्णय गर्ने तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र संघिय सांसद महेश कुमार बर्तौला समेत उक्त कार्यक्रममा रहेका थिए ।
साथै अभियन्ताले सरकारी सम्पत्ति अतिक्रमण गर्ने उद्देश्यले हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डमाथी हेटौंडा अस्पतालको बोर्ड राखेपछी त्यसको विरुद्धमा उकुसमुकुस भइ एमाले निकट प्रतिष्ठान, युवा संघ र विद्यार्थी संगठन अनेरास्ववियुले विज्ञप्ति निकालेको थियो । आत्तिएको अवस्थामा निकालेका विज्ञप्ति मार्फत बोर्ड परिवर्तन गर्ने अभियन्ताहरुलाई मानसिक सन्तुलन गुमाएका अराजक झुण्डको संज्ञा दिएको थियो । पार्टीको निर्देशनमा निकालेका विज्ञप्तिहरु मार्फत घटनाका दोषिहरुलाई छानबिन गरि कानुनी दायरामा ल्याउनु भन्ने आदेश अनुसार सिडिओ श्रेष्ठले अभियन्ताहरुलाई पक्राउ गरि थुनामा राख्न निर्देशन दिएका थिए ।
त्यस यताका दिनहरुमा श्रेष्ठको चौतर्फी आलोचना सुरु भयो । आलोचनाको घेराबन्दीमा परेकी श्रेष्ठले एमाले नेताको कुरा सुनेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड हटाउनेलाई पक्राउ गर्न निर्देशन दिएको आरोपकै कारण अन्तत श्रेष्ठलाई सडक देखि सामाजिक संजाल सम्म एमाले सिडिओको ट्याग समेत लाग्यो र सडकमा “एमाले सिडिओ फिर्ता जा” भन्ने सम्मको नारा गुन्जियो । सार्वजनिक स्थलमा सरकारी बेतनधारी कर्मचारी माथि दलिया ट्याग लाग्नु लगाईनु कर्मचारीको लागि खपिनसक्नु आलोचना हो ।
राज्यको सम्पत्ति हेटौंडा अस्पताललाई जीवन्त राख्दै अस्पताल र प्रतिष्ठानलाई छुट्टाछुट्टै विकास गर्नुपर्छ भन्ने आन्दोलन प्रती समर्थन जनाउने एमाले बाहेकका अन्य सबै पार्टी, संघसंस्था र संगठनको विरुद्ध कदम चाल्नु सिडिओ श्रेष्ठको कमजोरी थियो । सार्वजनिक सम्पत्ति संरक्षणमा लाग्ने युवा अभियन्ताहरुलाई स-सम्मान पुरस्कृत गर्नुको साटो हातमा हतकडी थमाएर थुनामा राख्नु गलत कार्य हो । यसबाट सरकारी सम्पत्ति हडपेर संस्थागत र पार्टीकरण गरि सिध्याउने नियतले अघि बढेका एमाले पार्टी निकटका प्रतिष्ठान र संघ संगठनको पक्षपोषण गरेको स्पष्ट हुन्छ । सर्वपक्षिय बैठकमा समेत एमाले सित नरम र अन्य दल सित गरम भएको भन्ने कुरा बैठक बाट बाहिरिएको थियो ।
यसकारण श्रेष्ठले एमाले नेताको ईशारामा विशालराज महत, सुनिल गिरी, सफल अधिकारी, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई जसरि पनि थुन्नु पर्ने निर्देशन गरेको भन्ने बुझिन्छ । यसरी अभियन्ताहरुलाई पक्राउ गरि थुनामा राख्न फरमान जारि गरेको भन्ने कुरा लिक हुने बितिक्कै माईति जिल्लामै सिडियो श्रेष्ठ प्रति स्थानीय आक्रोसित हुन पुगेका थिए । सडकमा सिडियो श्रेष्ठ प्रति “मुर्दावाद” सम्मको नारा घन्कियो भने “एमाले सिडिओ फिर्ता जा” भन्ने नारा हेटौँडाका सडक हुँदै गृह मन्त्रालय सम्म पुग्यो ।
विशालराज महत, सुनिल गिरी, सफल अधिकारी, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई सहमतिमा सर्वपक्षिय छलफल गरेर विवाद समाधान गर्ने भनेर जब जिल्ला प्रहरी कार्यालयमा बोलाईयो त्यस पछी कुनै छलफलनै नगरी सिडिओ श्रेष्ठको आदेशमा हिरासतमा राखी म्याद थप गर्ने निर्णय भए पछी सिडिओ श्रेष्ठ जनताको सिडिओ नभएर एमाले कार्यकर्ता भएको आवाज र बिरोध सडक सम्म आइपुग्यो । सिडिओ श्रेष्ठले वैशाख ४ गते पक्राउ परेकालाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिए पछी श्रेष्ठको आलोचना झन् चर्कियो । नाजायज आरोपमा थुनिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग गर्दै आन्दोलनका समर्थकहरुद्वारा जिल्ला प्रहरी कार्यलय अगाडिको राजमार्गमा ४ गते बेलुका टाएर बालेर एक घण्टा चक्काजाम गरि नाराबाजी लगाइयो । त्यस्तै वैशाख ५ गते बिहान ११ बजे सिडिओ कार्यलय घेराउ गर्दै नाराबाजी लगाइयो । जसको प्रभावले श्रेष्ठको आदेशमा थप गरिएको ५ दिनको म्याद २४ घण्टा पनि टिक्न सकेन ।
अन्ततः २४ घण्टाको अन्तरालपछी हेटौंडा अस्पताल प्रकरणमा थुनिएका अभियन्ताहरुलाई छोड्ना सिडियो बाध्य भयो । अझैपनी आफैले गरेको आदेशमा टिक्न नसकेको भन्दै श्रेष्ठको कार्यशैली प्रति नागरिक स्तर बाट आलोचना भएको छ । आफै ५ दिनको म्याद थप्ने अनि आफै प्रहरी प्रशासनलाई रातारात सबै बयान लिएर बिहानै पेस गर्न हुकुम दिने सिडिओको कस्तो कानुन हो भन्दै नागरिकले गुनासो गरेका छन् ।
सिडिओ श्रेष्ठले एमालेको दबाबमा पक्राउ गर्न निर्देशन दिएको र सडकको नागरिक आन्दोलन आफु तिर केन्द्रित भए पछी दबाबमै छोडेको आरोप लागेको छ । श्रेष्ठको अपरिपक्व कार्यशैलीप्रति नागरिक स्तर बाट सुरु भएको आलोचना एक साता नपुग्दै श्रेष्ठलाई हटाउनु पर्ने आवाजमा बदलिएको छ ।














